तिहार

अहिले हाम्रो गाउँघर देखि सहरमा छुट्टै चहलपहल सुरु भैसकेको छ । मानिसहरु कोहि यता त कोही उता हिड्न ब्यस्त छन् । बजार पनि भरिभराउ छ। बाताबरण पनि रमाइलो छ। चिसो मौसमको सुरुवात र गर्मी मौसम को अन्त्यमा हुने शरद ऋतुमा सबै जीवजन्तु लगायत बाताबरण नै हर्शोल्लास छ। शरद ऋतुमा नेपालीहरुको महान चाडहरु दसैं र तिहार पर्ने गर्दछन । आज  हामी यहि 
शरद ऋतुमा पर्ने नेपालीको महान चाड तिहारको बारेमा चर्चा गर्ने छौ ।तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ ।
पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ । तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पुजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो ।
हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा यस पर्वलाई नेपाल लगायत बिश्वका थुप्रै देशमा धूमधामसाथ मनाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यही दिन भगवान् धनवन्तरीको जन्म भएको हुनाले यसलाई धनवन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु-गोवर्धन र भाइ पुजा गरिन्छ ।

तिहार रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्वमा हो जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई भब्य रुपमा हर्षोउल्लासका साथ रमाइलो गरि मनाउने गरिन्छ । काग तिहार काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्छ । यमपन्चकको पहिलो दिन तिहारमा कागको पूजा गर्दा फूल, अक्षताले आकाश तिर छर्किदै पुज्दै विभिन्न  मन्त्रले कागलाई बोलाएर दहीभात आदि खाद्यपरिकार दिनुपर्ने शास्त्रीय प्रावधान छ ।

तर अहिले कागका लागि भात, रोटि मिठार्इं तथा विभिन्न परिकार थाल वा दुना वा टपरीमा छ्तमा वा बाहिर राखिदिएर पूजा गर्ने चलन छ । 


काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । समाचार बहाक काग का, का का, गरेर कराउँछ । तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो।

घरबाट फालिएका र गाउँ–सहरमा थुप्रिएका फोहोर सफा गरेर वातावरणीय स्वच्छतामा सघाउ पुर्याउन कागले मद्दत गर्छ ।

कुकुर तिहार

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ।  कुकुर तिहारको पूजामा लागि फूल, अक्षता, माला तथा मिष्ठान्न भोजनले यस दिन घरमा पालेका कुकुर तथा कुकुर नपाल्नेहरूले बाहिरका कुकुरको पूजा गरी टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा ख्वाउने चलन छ ।

कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घर को रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । यसरी सुरक्षाका दृष्टिले पनि कुकुर हितकारी छ । आजपर्यन्त कुकुर लोकप्रिय घर पालुवा जनावरका रूपमै छ । यस्तो गुनिलो जनावरलाई मान्छेले पूजा गर्न गर्नुको साँस्कृतिक अर्थ छ।

त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ ।  

गाई तिहार र लक्ष्मी पूजा

तिहारको पाँच दिनमध्ये तेस्रो दिन कार्तिक कृष्ण औंसीको दिन हो । यो दिनलाई गाई तिहार पनि भनिन्छ ।

गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाई को गोबर ले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र

गाईलाई पशुधनका रूपमा लिइन्छ । गाईको गोबरलाई मानिसले ‘एन्टिसेप्टिक’ का रूपमा प्रयोग गर्छन् । गाईले सूर्यबाट आउने विभिन्न हानिकारक विकिरणलाई सोस्ने काम गर्छ । यसले वायुमण्डललाई स्वच्छ बनाउन मद्दत पुर्याउँछ । गाईको गोबरबाट निकालिने गोबर ग्याँस एक प्रमुख जैविक इन्धन हो। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् ।

लक्ष्मी लाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसी को रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर गाई तिहारको बेलुका लक्ष्मीपूजा  गरिन्छ ।
यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । यहि दिन महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म भएको थियो ।

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।  नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।

नेपालमा यसलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। दीपावलीमा "तमसोमा ज्योतिर्गमय" अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर्नुहोस् भन्ने यो दिन चेलीबेटीहरू खासगरी स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेलेर रमाइलो गर्ने चलन छ।

गोरु तिहार गोवर्धन पूजा

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइन्छ। यस दिन गोरुको पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि तयार गरी फूलको माला लगाई मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ । गोरु र हलोले खेत जोती आन्न फलाएर कृषिको बिकासमा र मानिसको जीवनमा क्रान्ति नै ल्याइदियो। त्यही भएर गुन तिर्न गोरुको पूजा गरेको हुनुपर्छ ।

यस दिन हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् ।


भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृत मा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ ।

नेवार समुदायले यहि दिन आफ्नो शरीरलाई पुजा गरी म्हपुजा मनाउँछन् । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ । परिवारमा मुलीले परिवारका सबै सदस्यहरुको म्ह अर्थात शरिरको पुजा गरी हाँस वा कुखुराको फुल सगुन अर्पण गरिन्छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले ईस्वी सम्वत् ८८० मा नेपाल सम्वत् चलाइएका थिए । उनले काठमाडौंका जनतालाई ऋणमुक्त गराई नेपाल संवत् चलाइएका थिए । त्यसरी एकजना साधारण जनताले राष्ट्रको नाममा चलाइएको संवत् फेरिएको खुसियालीमा एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने र शंखधर साख्वाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।

यसै दिन देखि पुरुषहरुले देउसी खेली व्यापक रमाइलो गरि तिहार मनाउने गरिन्छ। परम्परागत  देउसी  हराउदै जादैछ भने त्यसमा आधुनिकता पनि मिसिएको पाइन्छ। जे होस देउसीका कारण तिहारको मज्जा नै बेग्लै हुन्छ।

भाइतिहार (भाइ टीका)

भाइतिहार (भाइ टीका) तिहारको वा यमपन्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका र महत्वका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराज लाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलि का लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा यस पर्बलाई लिइन्छ ।

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ ।  भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् ।


दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका; पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो सात रङ्गका टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ ।


दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति प्राप्त हुन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गरि  भाइटिका पर्व धुमधामसँग मनाइन्छ ।


समग्रमा हेर्दा तिहारका गतिविधिले हाम्रा संस्कार र सभ्यताको सांगोपांगो झल्को दिन्छन् । यो चाँडले सत्य र असल कार्यका लागि बत्तीजस्तै प्रज्जवलित हुन हामी सबैलाई प्रेरित गर्छ । यसले आपसी मेलमिलाप, सद्भभाव, स्नेह,प्रेम र प्रकृति पूजा सिकाउँछ । तर तिहार मनाउँदै गर्दा यसको मर्म बुझ्नु र जीवनमा त्यसको सन्देस र महत्वलाई अनुसरण गर्नु बान्छ्निय हुन्छ ।


तिहारको सांस्कृतिक पक्ष:

तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा-आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।

तिहारको वैज्ञानिक पक्ष

 

तिहार पर्व महान् सांस्कृतिक पर्व हो । तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्त्व देखिएका छन् त्यो भन्दा पनि बढी वैज्ञानिक महत्त्व देखा पर्दछन् । जस्तो चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन् । बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउने काम त यसै पनि गर्दै आएका छन् अप्रत्यक्षरूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुझिन्छ । त्यस्तै कुकुरको स्वामीभक्ति त यसै पनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुरपूजाको प्रसङ्गले  बुझिन्छ। त्यस्तै गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर हाम्रो जीवन बचाउने वहरले हलो तानेर र पहाडपर्वतले अक्सिजन दिएर सम्पुर्ण प्रा‍णीको प्राण बचाउने गरेकोबुझिन्छ  । त्यसैले यतिबेला गरिने गाई, गोरु र गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने हुन्छ । लक्ष्मी पूजाको अर्थ धनसम्पत्तिप्राप्तिको कामना हो । धन कमाउनका लागि शरीर स्वस्थ र निरोगी हुनुपर्छ भने शरीर स्वस्थ र निरोगी रहन सदैव प्रसन्न चित्त रहन सक्नुपर्छ । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्दा यसको अर्थ मान्छेले मान्छेको सम्मान गर्न सक्नु र जान्नुपर्छ भन्ने सन्देश दिनु हो । संसार बिग्रेको मान्छेले मान्छेप्रति गर्ने व्यवहार सन्तुलित हुन नसकेर नै हो । जहाँ मान्छेबाट मान्छेको सम्मान हुन सकेको हुन्छ त्यहाँ अहिलेको संसारमा विद्यमान आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छ ।


यहाँहरु सबैलाई तिहारको हार्दिक शुभकामना !!

 


2 تعليقات

إرسال تعليق
أحدث أقدم